काठमाडौं — अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ । गृह जिल्ला रुकुम पुग्नुभएका मन्त्री शर्माले जिल्ला सदरमुकाममा नेपाल पत्रकार महासङ्घ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त धारणा व्यक्त गर्नु भएको हो ।

मन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनेगरी अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित भएको बताउनुभयो । पत्रकारहरुको जिज्ञासाको उत्तर दिंदै मन्त्री शर्माले ‘आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडि बढाएका छौं । आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ’ भन्नुभयो । कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै मन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० देखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने समेत बताउनुभयो ।

देशका प्रमुख शहरसँग ग्रामीण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ आगामी बजेटले ध्यान मन्त्री शर्माको भनाइ छ । जनतामा आधारित विकासको अवधारणालाई समेत बजेटमार्फत् कार्यान्वयन गरिने उहाँले बताउनु भयो । सोही क्रममा बोल्दै मन्त्री शर्माले जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्नेछन् । निर्माण कार्य गुणस्तरीय होस् भन्ने कुरामा उत्तिकै ध्यान दिइनेछ’ भन्नुभयो ।

मन्त्री शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य बस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य श्रृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको बताउनुभयो । उहाँले शोधनान्तर घाटालाई बिस्तारै सुधार गर्दै लगेको तथा तरलता अभाव केही दिन भित्रै समाधान उन्मुख भएकाले अर्थतन्त्र लयमा आउने विश्वास दिलाउनुभयो । हाल अवैद्य डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको जानकारी आफूले पाएको अर्थमन्त्री जनार्दन शर्माको भनाइ छ ।