फाइल तस्वीर
वाशिङ्टन – रुस र युक्रेनबीचको युद्धको गतिविधिलाई नियाल्न अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्ड जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाए अनुसार सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारहरुसँगको बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति बाइडेन पोल्याण्ड जान लाग्नु भएको हो ।

राष्ट्रपति बाइडेनले पोल्याण्डका समकक्षी राष्ट्रपति आन्द्रजे दुदासँग वार्शामा भेटवार्ता गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । दुई देशका शीर्ष व्यक्तित्वबीच युक्रेन युद्धका कारण उत्पन्न सङ्कटमा मानवीय सहायताका सम्बन्धमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस र युक्रेन युद्धका कारण उत्पन्न भएको मानवीय सङ्कट समाधानका लागि भइरहेका प्रयास र त्यसलाई थप बलियो बनाउने विषयमा दुई देशका प्रमुखबीच छलफल हुने ह्वाइट हाउसले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार युक्रेन युद्धलाई लिएर फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालियन प्रधानमन्त्री मासिओ द्राघी र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग टेलिफोन संवाद गर्दै हुनुुहुन्छ ।

मार्च २३ तारिख बुधबार ब्रसेल्समा हुने नेटो राष्ट्रको सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुनुहुने कार्यक्रम छ । ब्रसेल्समा युरोपियन युनियन र जी सेभेन राष्ट्रका नेताहरुको बैठक हुने र उक्त बैठकमा पनि बाइडेन सहभागी हुनुहुने कार्यक्रम रहेको छ । ह्वाइट हाउस प्रवक्ता जेन शाकीले बताए अनुसार राष्ट्रपति बाइडेन युद्धग्रस्त युक्रेन जाने कुनै योजना नरहेको बताइएको छ ।

गत फेब्रुवरी २४ देखि युक्रेनमाथि भएको रुसी आक्रमणका कारण अहिलेसम्म एक करोडभन्दा धेरै युक्रेनी नागरिकहरु आन्तरिक वा बाह्य रुपमा विस्थपित भएका छन् भने ३५ लाखभन्दा बढीले देश छोडेका छन् । देश छोड्नेमध्ये अधिकांशले छिमेकी देश पोल्याण्डमा शरण लिएका छन् ।

युक्रेनमाथि गरेको आक्रमणलाई लिएर अमेरिकासहितका पश्चिमा देशहरुले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । सो प्रतिबन्धका कारण रुसको अर्थतन्त्र गम्भीर समस्यामा आएको छ । तर इन्धनसहितका सामग्रीको रुसबाट हुने आयात पश्चिमा देशले बन्द गर्दा विश्व अर्थतन्त्रमा युद्धको प्रभाव परेको छ । विशेषगरी अमेरिका र युरोपेली देशहरुको अर्थतन्त्र खस्किएको छ ।