महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर रहेका छन् ।

सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरेका थिए । उपचारका लागि लैजाने क्रममा ठाकुरको मृत्यु भएको जनाइएको छ । यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

होली खेलेर शनिबार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएका थिए । तर उनलाई बचाउने प्रयास भने सफल भएन ।