फाइल तस्वीर

कोलम्बो – सरकारले परीक्षाका लागि आवश्यक कागज ल्याउन बजेट दिन नसकेपछि श्रीलङ्काका विद्यालय तहको परीक्षा स्थगित भएको छ । आर्थिक सङ्कट समाधानको विकल्पको माग गर्दै श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शन भएको हो । गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा कागज किन्ने पैसा समेत नभएपछि विद्यालय तहको परीक्षा रोकिएको बताइएको छ । यसबाट दसौँ लाख विद्यार्थी प्रभावित भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ ।

श्रीलङ्काले हाल सन् १९४८ यताकै गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ । राजधानी कोलम्बोमा भोलि सोमबारदेखि विद्यालय तहको परीक्षा सुरु हुने मिति तय गरिएको थियो, तर शिक्षा अधिकारीहरुले शनिबार कागजको अभावका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका छन् । शिक्षा अधिकारीहरुले बताए अनुसार सरकारले परीक्षाका लागि आवश्यक कागज ल्याउनका लागि बजेट दिन नसकेकाले परीक्षा रोक्नु परेको बताएका हुन् ।

वेस्टर्न प्रोभिन्सको शिक्षा विभागले भनेको छ, ‘अत्यावश्यक कागज र मसी ल्याउन आवश्यक रकम व्यवस्था गर्न नसकेकाले विद्यालयहरुको परीक्षा लिन नसक्ने भएको छ ।’ देशभरका ४५ लाख विद्यार्थीमध्ये कागज र मसीको अभावका कारण करिब दुईतिहाइ विद्यार्थीको परीक्षा लिन नसक्ने अवस्था रहेको सरकारी स्रोतले बताएको द गार्डियनले उल्लेख गरेको छ ।