फाइल तस्वीर
कास्की – सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका नेताहरुले गठबन्धन र आफ्नो पार्टी विरुद्ध तुच्छ भाषा प्रयोग गर्दै नकारात्मक अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोचना गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पोखरामा आयोजित एक कार्यक्रमका क्रममा पत्रकारहरुसँग बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले देशमा माओवादीले उठाएका जनताका मुद्दा स्थापित भएको हुँदा आगामी निर्वाचनमा माओवादीले तिनै एजेण्डालाई लिएर जनताको घर दैलोमा जाने बताउनु भएको छ । सोही क्रममा अध्यक्ष प्रचण्डले सकेसम्म गठबन्धन दलहरु मिलेर जाने नभए माओवादी केन्द्र एक्ले चुनावमा होमिने बताउनु भयो ।

एमालेसँग अहिले नै चुनावी तालमेलको कुनै सम्भावना नरहेको तर तालमेलका बारे सबै सम्भावना खुला रहेको पनि बताउनु भयो । उहाँले ‘काङग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो । त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको सङ्केत गरेको हुँ, ‘तर एमालेसँग अहिले गठबन्धन गर्ने कुरा छैन । सत्ता गठबन्धनका दलहरुबीच नै चुनावी तालमेल हुन्छ’– भन्नुभएको छ

माओवादी एक्लै आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको प्रष्ट पार्दै ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनलाई बलियो पार्ने हो’ अध्यक्ष प्रचण्डको भनाइ थियो ।