फाइल तस्वीर
काठमाडौं— हिमाल आरोहणको मुख्य समय मानिने वसन्त शुरु भएसँगै यस वर्षको आरोहणका लागि तयारी शूरु भएको छ । विश्वका अग्लो हिमाल सगरमाथा (८८४८.८६ मीटर) लगायतका हिमाल आरोहणका लागि विश्वभरका आरोहीहरु नेपाल आउन शुरु भएसँगै पर्यटन विभागले आरोहणको व्यवस्थापनका प्रकृयागत काम शूरु गरेको जनाएको छ ।

आरोहणका लागि अनुमती लिने विदेशी पर्यटक आउने क्रम जारी रहेकोसँगै आरोहणलाई थप सहजीकरण गर्न काम सुरु गरेको विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो । आरोहणका लागि रुट (बाटो) निर्माण गर्न सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट आइसफल डाक्टर आधारशिविर तर्फ पठाइ सकिएको र आधारशिविरमा अनुगमनका लागि सरकारी प्रतिनिधि (सम्पर्क अधिकृत) पठाउन छनौटको काम सम्पन्न गरि सकेको उहाँले जानकारी दिनुभयो । आङसर्की शेर्पाको नेतृत्वमा छ जना आइसफल डाक्टरको टोली त्यसतर्फ गएको नाम्चेकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो । आइसफलदेखि क्याम्प दुईसम्मको बाटोमा पर्ने क्रेभासको हिउँ सफा गर्ने, डोरी टाँग्ने, बाटोमा आवस्यक भ¥याङ राख्ने कामहरु आइसफल डाक्टरले गर्ने गर्दछ ।

सगरमाथा, ल्होत्से, नुप्से, पुमोरी हिमालका लागि एउटै आधारशिविर प्रयोग गर्ने भए पनि अन्य हिमाल आरोहणका लागि समेत रुट निर्माणका लागि तयारी सुरु गरेको विभागले जनाएको छ । विभागले सगरमाथा आरोहणका लागि एक पटकमा ७५ दिन अनुमती दिने गरेको छ भने अन्य हिमालका लागि भने उचाई अनुसार ४५ दिन भन्दा माथि समय दिने गरेको छ ।

सगरमाथा आरोहीको संख्यामा गत वर्षको भन्दा यस वर्ष कमी आउने व्यवसायीहरुले जनाएका छन् । धेरै संख्यामा आरोहण आयोजना गर्ने सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाका अनुसार युक्रेन र रुसको युद्धका कारण पनि यो वर्ष ३० प्रतिशत बढी आरोहीले आरोहण रद्द गरेको जानकारी दिनुभयो । अधिकांश आरोही ती क्षेत्रबाट आउने भए पनि धेरै आरोहण आयोजना गर्ने कम्पनीमा रद्द गरेकाले यस वर्ष आरोहीको संख्यामा कमी आउने भएको उहाँले बताउनुभयो । कोरोना महामारीकै बीचमा पनि गत वर्ष हालसम्मकै धेरै अर्थात ३९४ जना विदेशी आरोहीले सगरमाथा आरोहणका लागि अनुमती लिएका थिए ।

आरोहणको संख्यामा कमी आउने भए पनि गुणस्तरीय आरोहीको संख्या बढी भएकाले आधारशिविरको व्यवस्थापन, अक्सिजन, खाद्यन्न लगायतका गाइड र आरोहण औजारहरुको व्यवस्थापन सम्पन्न गरी सकको र मौसमले साथ दिए यस वर्ष समयमै बसन्त मौसमको आरोहण सम्पन्न गर्ने लक्ष्यमा व्यवसायीहरुको रहेको छ ।