काठमाडौं — शिक्षकहरुले अध्यायन अनुमति पत्र लिनका लागि अब वस्तुगत उत्तर दिने पुग्ने भएको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुपति पत्रको परीक्षाको पाठ्यक्रम परिमार्जन गरी वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेपछि वस्तुगत उत्तर दिने व्यवस्था भएको हो । आयोगले यो निर्णय यही चैत २ गतेदेखि नै यो लागु गरिएको जनाएको छ ।

अध्यापन अनुमति लिने परीक्षाका लागि यस अघिको प्रावधान विषयगत ६० प्रतिशत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु हल गर्नुपर्ने थियो । अबदेखि प्रतिप्रश्न दुई अङ्कको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने छ । यसअनुसार परीक्षा १०० पूर्णाङ्कको हुने छ । उक्त परीक्षा पास हुन ५० नम्बर ल्याउनु पर्ने छ ।

शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले नवसञ्चार अनलाईनलाई बताए अनुसार निम्नमाध्यमिक र माध्यमिक तहको अध्यायन अनुमति परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय भएको बताउनु भयो । सूचना अधिकारी मरहठ्ठाले ‘पहिलेको परीक्षा बोझिलो भएकाले सरलीकृत गर्नुपर्छ भन्ने अभिप्रायले नै आयोगले यस्तो निर्णय गरेको हो’ भन्नुभयो ।

शिक्षक सेवा आयोगले २०६१ सालदेखि अध्यापन अनुमति पत्रको परीक्षा लिन थालेको हो । विगतमा प्रावि तहको पनि अध्यापन अनुमति पत्र को परीक्षा लिने व्यवस्था थियो । आयोगका सूचना अधिकारी मरहठ्ठा ‘गत एक वर्ष हामीले अध्यापन अनुमति पत्रको लागि विषयगत गरेका थियौं । त्यो अलि बोझिलो पनि भयो । त्यो त्यति व्यवहारिक पनि भएन भनेर हामीलाई धेरै ठाउँबाट सुझाव पनि आयो,’ भन्नुहन्छ ।

निम्नमाध्यमिक र माध्यमिक तहको परीक्षाको पाठ्यक्रम परिमार्जन गर्दा आयोगले प्रावि शिक्षकको अनुमति पत्रको परीक्षाका बारेमा केही निर्णय गरेको छैन । त्यसको कारणबारे आयोगका सूचना अधिकारी मरहठ्ठाका अनुसार ‘निमावि र प्राविको शैक्षिक योग्यता एउटै भएकाले अहिलेलाई प्राविको लागि भनेर आयोगले छुट्टै निर्णय गरेको छैन ।