प्रतिकात्मक तस्वीर

मोरङ – विराटनगरमा एक हार्डवेयर व्यवसायी आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर रोडशेष चौक उत्तरस्थित मिथिला हार्डवेयरका सञ्चालक विनोद झा मृत अवस्थामा भेटिएका हुन । प्रहरीका अनुसार बुधबारबाट घरबाहिर नदेखिएका उनको शरीर पङ्खानजिकको हुकमा झुन्डिएको अवस्थामा भेटिएको हो । प्रहरीलाई घरमा रहेको होटलका कर्मचारीले बिहीबार बेलुका खबर गरेका थिए। सोहीअनुसार प्रहरीले बिहीबार राति करिब १० बजे घरमा हेर्दा झा झुण्डिएर मृत अवस्थामा भेटिएका थिए ।
जनकपुर घर भएका ५६ वर्षीय झा पछिल्लो समय एक्लै बस्दै आएको प्रहरीले जनाएको छ । पारिवारिक सदस्यका अनुसार चिकित्सक छोरी स्नेहा र श्रीमती साधना झा हुन् । दुवै जना केही दिनदेखि काठमाडौँमा भएको बताइएको छ । उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ । झाले पछिल्लो १ वर्षदेखि पसल पनि बन्द गर्दै आएका थिए ।