फाइल तस्वीर

वाशिङ्टन– रुस र युक्रेनबीचको जारी युद्धलाई लिएर चीन र अमेरिकाबीच टेलिफोन सम्वाद हुने भएको छ । चिनिया राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच शुक्रबार रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयमा सम्वाद गर्न लागेको हो ।
युक्रेनमाथि भैरहेको रुसी आक्रमणका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच पहिलो पटक वार्ता गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार दुवै देशका शीर्ष नेतृत्वबीच आज शुक्रबार सम्वाद हुँदैछ ।

रुसले युक्रेनमाथि गत फेब्रुवरी २४ तारिखदेखि आक्रमण गर्दै आएको छ । रुसी आक्रमणबाट युक्रेनका अस्पताल, विद्यालय, सार्वजनिक भवन, आवासीय क्षेत्रका भवनहरु निशानामा परेका छन् । रुसको विश्वव्यापी रुपमा आलोचना भइरहेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर विश्वव्यापी रुपमा आलोचना भै रहेको छ । अमेरिका र बेलायतले रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई युद्ध अपराधी घोषणा गरिसकेको छन् । तर चीनले हालसम्म युक्रेनमा गरेको आक्रमणलाई लिएर रुसको निन्दा गरेको छैन । चीनले युद्धका सम्बन्धमा आफूलाई तटस्थ राख्ने प्रयास गर्दै आएको छ ।

रुसले चीनसँग युक्रेन युद्धका लागि सैन्य तथा वित्तिय सहयोग माग गरिरहेको र चीन पनि सहयोगका लागि सकारात्मक देखिएको दाबीसहितका खबर प्रकाशित भएका छन् । चीन र स्वयम् रुसले यस्तो आरोपको मिथ्या भएको भन्दै खण्डन गर्दै आएका छन् । यसै परिवेशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनिया राष्ट्रपति सी जिन पिङलाई आज हुने सम्वादमा अमेरिकाले चीनलाई चेतावनी दिने ह्वाइट हाउसका अधिकारीको हवाला दिंदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख छन् ।