फाइल तस्वीर
वासिङ्टन – अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी भनि घोषणा गरेको हो ।

युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर रुसी राष्ट्रपति पुटिनको निन्दा गर्दै उनलाई युद्ध अपराधी घोषणा गर्नेसम्बन्धी प्रस्तावलाई माथिल्लो सदन सिनेटले मङ्गलबार सर्वसम्मत रुपमा पास भएको थियो । सिनेटले हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई युक्रेनमाथि आक्रमण गर्ने निर्णयका सम्बन्धमा पुटिनलाई मुद्दा चलाउन समेत अपिल गरेको छ ।

सिनेटमा मतदानपूर्व डेमोक्रेटिक सिनेट नेता चक शुमरले सम्बोधन गर्दै युक्रेनमा गरेको अत्याचारका लागि पुटिनलाई जवाफदेही बनाउनुपर्ने बताएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रिपब्लिकन पार्टीका सिनेटर लिण्ड्सी ग्राहमले पुटिनको निन्दा गर्नेसम्बन्धी विधेयकलाई स्पोन्सर गरेका हुन् । उनले अबको काम अरु युरोपेली साझेदार देशहरुलाई पनि पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रक्रियामा ल्याउनु रहेको बताएका छन् ।

रुसले युक्रेनमाथि गत फेब्रुवरी २४ तारिखदेखि आक्रामण गर्दै आएको छ । यी दुवै देशबीच युद्ध भैरहँदा २० लाखभन्दा धेरै युक्रेनी नागरिकहरु छिमेकी मुलुकहरुमा शरणलिन पुगेका छन् । रुसले युक्रेनको राजधानी किभलाई नियन्त्रणमा लिने प्रयास स्वरुप घेराहाल्दै सैन्यशक्ति बढाउँदै लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैक्रममा रुसले पनि अमेरिकी राष्ट्रपति जो बाइडेनसहित १३ जना उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको समाचारमा जनाइएको छ ।