फाइल तस्वीर
वीरगञ्ज — देशको केन्द्रीय शासन सत्तामा जबसम्म मधेसीको सहभागिता हुँदैन तबसम्म मधेसको विकास हुन नसक्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले बताएका छन् । होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतोले यस्तो धारणा व्यक्त गरेका हुन् ।

नेता महतोले मधेसले देशमा जति योगदान गरेपनि शासन व्यवस्थामा खसहरुकै नेतृत्व रहेकाले मधेसको विकास हुन नसकेको जिकिर समेत गरे । काठमाडौंबाट शासन गर्ने शासकहरुले अझै पनि मधेसलाई स्वीकार गर्न नसकेको भन्दै ‘काठमाडौंबाट शासन गर्नेहरु आफूलाई ठूलो राष्ट्रवादी ठान्छन् र मधेशवादीलाई राष्ट्रवादी नै देख्दैनन्’ नेता महतोले भने ।

धोती कुर्तामा राष्ट्रवादी नदेख्ने खसवादी शासकले ढाका टोपीलाई मात्र राष्ट्रवाद देख्नु गलत भएको बताएका छन् । ‘यो नक्कली राष्ट्रवादको परिभाषा परिवर्तित हुनैपर्छ, मधेसीभन्दा यो देशमा कोही ठूलो राष्ट्रवादी छैनन्’ लोसपाका नेता महतोको भनाइ थियो । त्यस्तै मधेस प्रदेशका प्रदेशसभा सदस्य परमेश्वर साहले आफूहरुले यो ४ वर्षको अवधिमा थुप्रै कानूनहरु निर्माण गरिएको हुँदा अबका दिनमा ती कानून कार्यान्वयनमा आउने र त्यसपछिमात्र परिवर्तन देखिने दावी गरेका छन् ।

प्रदेशसभा सदस्य साहले मधेस सरकारले सञ्चालनमा ल्याएको ’बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले छापामारेको बताए छन् । भ्रष्टाचारको निष्पक्ष छानविनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै उनलाई यसमा सहयोग गर्न पटक पटक आग्रह गरेको भन्दै उनले ‘अख्तियारले छापा मारेको महिनौं बितिसक्दा पनि छानविनको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै दुख व्यक्त गरेका छन् ।