काठमाडौं – नेपालमा आज मङ्गलबार थप ८३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा ४ हजार ७ सय ३४ जनाको पीसीआर विधि र ३ हजार १ सय ५० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कुनै पनि सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, नेपालमा कोरोना भाइरसको सङ्क्रमकै कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भैसकेको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज मङ्गलबार १ सय ३० जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ७४६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा जम्मा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १३ जना र ललितपुर जिल्लामा २ जनामात्रै सङ्क्रमित हुँदा भक्तपुर शून्यमा झरेको मन्त्रालयले जनाएको छ ।