काठमाडौं – नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्च स्तरीय भेटघाट गर्दै हुनहुन्छ । २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सोमबार साँझ काठमाडौं आइपुग्नुभएको हो । उहाँले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसै गरी बिहान साढे ९ बजे परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने विश्वास लिइएको छ ।

साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्नुहुनेछ । मंगलबार अपराह्न उहाँ स्वदेश फर्कने कार्यक्रम छ ।