काठमाडौं – साताको पहिलो दिन हिजो आइतबार एक सय अङ्कभन्दा बढीले बढेको शेयर बजार परिसूचक नेप्से आज सोमबार ० दशमलव १५ अङ्कले बढेको छ ।

अघिल्लो दिन तेहेरो अङ्कले बजार बढेसँगै आजको बजारमा करेक्सन हुने अनुमान गरिए पनि शेयर बजार झिनो अङ्कले बढेको हो । दिनभर घटबढ भइरहेको शेयर बजार अन्तिम समयमा भने ० दशमलव १५ अङ्कले बढेर २६६८ दशमलव ११ अङ्कमा अडिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्समा पनि ० दशमलव ०५ अङ्कले झिनो वृद्धि भएको छ ।

सूचकले स्थिरता चाहिरहँदा लगानीकर्ता पनि खरिदबिक्रीमा खासै उत्साहित देखिएनन् । आज कारोबामा आएका २२० कम्पनीका २३ लाख ४९ हजार कित्ता शेयर १ अर्ब ३४ करोड २२ लाख रुपैयाँँमा कारोबार भयो ।

झिनो अङ्कले बढेको बजारमा बैंकिङ, विकास बैंक, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र अन्य समूहको सूचक बढेको छ भने अरुको घटेको छ । यस्तै आज कारोबारमा आएका ७७ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय कम्पनीको शेयर मूल्य घटेको छ ।