फाइल तस्वीर

काठमाडौँ– विवाद र चर्चामा आएको गीत ‘पीर’बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका हुन्।

सधैँ कसैको मन नबिझाई सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने उनको भनाइ छ। यसले गर्दा केही दर्शक स्रोतलाई मर्का परेको महसुस गरेको उनले प्रष्ट पारेका छन्।

गीतले भन्न चाहेको कुरा सबैलाई अवगत भइसकेकेको भन्दै उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ। मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरूका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि? तपाईंहरू (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु।’

‘पीर’बाट आफूले युद्धकै जग–बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनको भनाइ छ। समानताको लागि एकसाथ लडेका कमरेडहरूबीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको उनको भनाइ छ। गीतमार्फत आफूले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको बताएका छन्।

‘मलाई लागेको– यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिँदै÷पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र? स्वीकारिएको विषय होइन र ?’ उनले लेखेका छन्।

उनले लेखेका छन्, ‘६ वर्ष अगाडि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने, पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए। उनीहरू चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतीकात्मक रुपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पीर’। यो बीचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ। केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरेँ। केही पात्रहरू पढेँ। आममानिसका भोगाइ र संवेदनाहरू बुनेँ र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यही हो।’

एउटै गीतमा सबै दृष्टिकोण अटाउन नसकिने, पूरै बुझाइ बुझाउन पनि नसकिने उनको भनाइ छ।