काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अङ्कले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अङ्कभन्दा तल आइपुगेको नेप्से आज एकै पटक १०१ अङ्कले बढ्दै पुनः २६ सय ६७ अङ्कमा पुगेको हो ।
यसै क्रममा आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अङ्कले बढेपनि कारोबार रकम भने बढेको छैन । यसअघि, गत साताको बिहीबार ५२ अङ्कले बढेको थियो ।
परिसूचकमा उत्साहजनक सुधार आएको दिन आज कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ । जसमध्ये जिवन बीमा समूहमा ९२२ अङ्कको सुधार आएको छ भने निर्जीवन बीमा समूहमा ५६७ अङ्कको सुधार आएको छ ।
यसैगरी, उत्पादनमूलक समूहमा ३०८ अङ्कको सुधार आउँदा विकास बैंक समूह २१० अङ्कले बढेको छ । यस्तै, लघुवित्त समूह १६३ अङ्कले बढेको छ भने होटल एण्ड टुरिजम १५८ अङ्कले बढेको छ ।
आज नेप्सेमा तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकरात्मक सर्किट लागेको छ । यस्तै, थप ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।