काठमाडौं — नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३६ जना पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १ सय ५६ जनाको एन्टिजेन परीक्षणमा १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय ५१ जना सङ्क्रमणमुक्त भएका छन् भने ५ हजार ६ सय ९२ जना सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा १ सय २४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौं उपत्यकामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १९ जना, भक्तपुरमा १० जना र ललितपुरमा ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।