साङ्केतिक तस्वीर
लमजुङ – पौडी खेल्ने क्रममा एक जना विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर लमजुङ जिल्ला प्रशासन कार्यालयले सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत सनिज श्रेष्ठको मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको विषयलाई लिएर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी श्रेष्ठको पौडी खेल्ने क्रममा हिजो मङ्गलबार दिउँसो मर्स्याङदी नदीमा डुबेका थिए । छात्राबासका वार्डेनले मङ्गलबार विद्यार्थीलाई पौडी खेल्न उक्त नदीमा लगेका थिए । पौडी खेल्ने क्रममा ति विद्यार्थीको निधन भएपछि आफन्तसहित स्थानीयले स्कुल बस, भ्यान लगायत भौतिक संरचना तोडफोड गर्दै क्षति पुर्याएपछि थप दुर्घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले निषेधाज्ञा जारी गरेको बताएका छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा ‘कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका ७ को पूर्वदक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङदी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका ९ को मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्लाभित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ’ भनि उल्लेख गरेको छ ।

मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थीलाई पौडी खेल्न लैजाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर आगामी बैशाखमा हुने एसईई परीक्षा दिने तयारी गर्दै आएका थिए।