फाइल तस्वीर

काठमाडौँ — आज नारी (महिला) दिवस । मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ देखि संसारका महिलामा जागरण ल्याउने र उनीहरुलाई पिछडिएको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो ।

त्यो समय नारी दिवस मनाउने निश्चित दिन तोकिएको थिएन । १९१४ देखि हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा नारी दिवस भनेर निश्चित गरियो । नेपालमा भने २०१६ साल अर्थात् सन् १९५९ मा तत्कालीन प्रधानमन्त्री विपी कोइरालाको पालादेखि नियमितरुपमा यो दिवस मनाउन थालिएको पाइन्छ । यो दिन महिला अधिकार, महिला सशक्तिकरण, लैङ्गिक हिंसा र लैङ्गिक समानताका आवाज बुलन्द पार्ने गरिन्छ । यो महिला जागरुकता सम्बन्धी दिवस पनि हो ।

हाम्रो समाजमा अझै पनि महिलाले महिला भएकै कारण विभिन्न विभेदको सिकार हुनु परिरहेको छ । त्यो विभेद नेपाली फिल्म क्षेत्रमा पनि रहेको अभिनेत्रीहरु बताउँछन् । पारिश्रमिक विभेद, असुरक्षा लगायत महिलाले फिल्म क्षेत्रमा धेरै विभेद भोग्नु परेको उनीहरुको भनाइ छ ।

नारी दिवसका अवसरमा विभिन्न पेशाकर्मी महिला, महिला अधिकारको पक्षमा संघर्ष गर्दै आएका अभियन्ताहरु, समाजसेवी लगायत सहभागी भएर महिलाको हकअधिकारको विषयमा समाजमा जागरण फैलाउने काम गर्दछन् । सोही क्रममा अभिनेत्रीहरु पनि आजको दिन यस्तै विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

सदावहार अभिनेत्री करिश्मा मानन्धर आज महिलाको हक अधिकारको विषयमा आयोजित केही कार्यक्रममा सहभागी हुँदैछिन् । तीमध्ये एक उनको घर नजिक रहेको क्यान्सर अस्पतालको कार्यक्रम पनि हो । धेरै ठाउँबाट निम्तो आए पनि केही कार्यक्रममा मात्र आफू सहभागी हुने उनले बताइन् । कार्यक्रममा महिलामाथिको विभेदबारे आफूले चर्चा गर्ने उनी बताउँछिन् ।

करिश्माको जस्तै धेरै कार्यक्रमको निम्तो अभिनेत्री सृष्टि श्रेष्ठलाई पनि छ । उनी भने ‘ओमन एन्ड कन्सर्ट’ कार्यक्रममा मात्र सहभागी हुने बताउँछिन् । जसमा पूर्व मिस नेपाल माल्भिका सुब्बा र अभयाको समेत सहभागिता रहनेछ ।

अभिनेत्री बेनिसा हमाल पनि दुई कार्यक्रममा सहभागी हँुदैछिन् । नारी दिवस मनाउन खासै योजना नबनाएकी उनले महिला सचेतना सम्बन्धी एक र महिला बक्सिङ खेल सम्बन्धी एक गरेर दुई कार्यक्रममा आफू सहभागी हुने जानकारी दिइन् ।

अभिनेत्री खुस्बु खड्का आज नारीको सेवामुलक र अधिकारको आवाज बुलन्द गर्ने कार्यक्रममा सहभागी हुँदैछिन् । ‘म नारीको हक अधिकारका लागि सधैँ लडिरहेको हुन्छु,’ अभिनेत्री खड्काले भनिन्, ‘नारी दिवसमा नारीको आवाज अझ बुलन्द गर्ने प्रण गर्दछु ।’

उनले केही महिला सहकर्मी भेटेर अधिकारको कुरा गर्दै चियापान गर्ने कार्यक्रम समेत रहेको जानकारी दिइन् ।

अभिनेत्री वर्षा सिवाकोटीले नारी दिवसको दिन प्लेनमा बिताउँदैछिन् । उनले भनिन्, ‘म घुमघामका लागि अमेरिका जाँदैछु । मेरो नारी दिवस प्लेनमै बित्छ ।’

महिलाको उपस्थिति बढ्दो

नेपाली कला क्षेत्रमा अचेल पहिलेको तुलनामा महिलाको उपस्थिति बढ्दो छ । पहिले अभिनय, श्रृङ्गारलगायत केही विधामा मात्र सीमित महिला अहिले निर्देशक, लेखन लगायत अनेक र महत्वपूर्ण बिधामा समेत देखिन थालेका छन् । त्यसैले अहिले फिल्म क्षेत्रमा महिलाको उपस्थिति उत्साहप्रद छ ।

अभिनेत्री सृष्टि श्रेष्ठ पछिल्लो समय फिल्म क्षेत्रमा महिलाको उपस्थिति बढेको बताउँछिन् । सहभागिता बढ्नुको पछाडि अहिलेको राम्रो समय, चेतनाका कार्यक्रम र महिलालाई हेर्ने फेरिँदो दृष्टिकोण रहेको उनको धारणा छ ।

‘अहिले महिलाको कथासमेत फिल्मले धेरै उठाउने गरेका छन् । त्यो देखेर एकदमै खुसी लाग्छ,’ श्रेष्ठले थपिन्, ‘महिलाले पनि फिल्ममा लिड गर्न थालेका छन् । त्यो पनि खुसीको कुरा हो ।’

श्रेष्ठको विचारसँग अभिनेत्री वर्षा सिवाकोटी पनि सहमत छिन् । उनी पनि नेपाली फिल्ममा महिलाको उपस्थिति पहिलेको तुलनामा राम्रो भएको बताउँछिन् । ‘अहिले महिला कलाकारले आफूलाई लागेको कुरा निर्धक्क राख्न पाइरहनु भएको छ । स्मार्ट महिला, शिक्षित महिलाको उपस्थिति बढ्दो छ,’ उनले भनिन्, ‘महिलाले यो गर्न मिल्ने र यो गर्न नमिल्ने भन्ने विचारमा समेत परिवर्तन आइसक्यो ।’

सिवाकोटी कलाक्षेत्रमा महिला र पुरुष कलाकारका बिच विभेदको खाडल समेत घटेको धारणा राख्छिन् ।

फिल्म क्षेत्रका महिला कलाकारको उपस्थिति बढेको अभिनेत्री खुस्बु खड्काले पनि महसुस गरेकी छन् । उनी फिल्म क्षेत्रमा महिलाको उपस्थिति एकदमै राम्रो भए पनि मार्ग निर्देशन र सुरक्षा भने कमी रहेको सुनाउँछिन् । ‘कलाकारिताको सबै विधामा महिला क्रियाशील देख्न सकिन्छ । तर सुरक्षा भने पुरुषको तुलनामा कम छ,’ उनले भनिन् ।

अभिनेत्री स्वस्तिमा खड्काको बुझाइ भने फरक छ । उनी फिल्म सेटमा महिलाको संख्या कम रहेको बताउँछिन् । ‘फिल्म चिसो मान्छेको सुटिङमा म बाहेक महिला कोही थिएनन्,’ खड्काले थपिन्, ‘सुटिङमा मलाई अप्ठ्यारो हुन्छ भनेर निर्देशक दीपेन्द्र दाइले एक महिलालाई ल्याउन भन्नु भएको थियो ।’

फिल्मको स्पोट, किचेन लगायत धेरै विधामा महिलाको अभाव रहेको उनले सुनाइन् ।

पारिश्रमिकमा विभेद

एक दशक यताको फिल्म क्षेत्र नियाँल्ने हो भने महिलाको उपस्थिति बढेको छ । अभिनयमा मात्र होइन, फिल्मका हरेक विधामा महिलाको सक्रियता देख्न सकिन्छ । कतिपय अवस्थामा पुरुषले गर्दै आएका कठिन कामसमेत महिलाले गर्न थालेका छन् ।

फिल्ममा महिलाको उपस्थिति दर्बिलो देखिए पनि पारिश्रमिकमा भने विभेद कायमै छ । एउटै र उत्तिकै मेहनत पर्ने कामका लागि महिला र पुरुषमा फरकफरक पारिश्रमिक छ ।

पारिश्रमिकको विभेद धेरै अभिनेत्रीले भोगेको र महसुस गरेको विषय हो । तर यसबारे कोही बोल्छन्, कोही बोल्दैनन् । अभिनेत्री स्वस्तिमा खड्का फिल्म क्षेत्रमा महिलाले पारिश्रमिकको विभेद धेरै भोग्नुपर्ने बताउँछिन् ।

‘पुरुषले जति भने पनि स्वाभाविक लिने, हिरोइनले भन्यो भने केटी मानिसको पनि यति धेरै पारिश्रमिक ? भनेर प्रश्न गर्दछन्,’ खड्काले भनिन् ‘आफूभन्दा सिनियर आर्टिस्ट छ भने बढी हुनु स्वाभाविक हुन्छ ।’

आफूले अहिलेसम्म पारिश्रमिक विभेदको सामना गर्नु नपरेको उनी सुनाउँछिन् । आफूले नभोगे पनि साथीभाइहरुबाट पारिश्रमिक विभेदको कुरा सुनेको बताउने उनी पारिश्रमिक विभेदको अलावा महिलाले हेपाहा व्यवहार झेल्नु परेको बताउँछिन् । जस्तै कफीका लागि बोलाउने, काम होस् कि नहोस्, मिटिङ भनेर बोलाउने गरेको उनको भनाइ छ ।

‘कहिले काहीँ हामीले गाउँमा, टाढाटाढा गएर सुटिङ गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा हामी पिरियड भएको पनि हुनसक्छौँ,’ खड्काले थपिन्, ‘पिरियडको समय त्यही अनुसारको खाना र सुविधा चाहिन्छ । महिला भएको कारणले त्यस्तो सुविधा नमिल्ने पनि हुन्छ ।’

उनको विचारमा अभिनेत्री बेनिसा हमाल पनि सहमत छिन् । फिल्म क्षेत्रमा पारिश्रमिकको विभेद आफूले पनि भोग्नु परेको उनी सुनाउँछिन् ।

‘पारिश्रमिकको विभेद त छँदैछ । महिला भएका कारणले परिश्रमिकका लागि धाइरहनुपर्ने, कराइरहनुपर्ने अवस्था समेत भयो,’ हमालले अगाडि थपिन्, ‘महिला कलाकारको नाम र फेस भ्यालु मूल्याङ्कन त छँदैछ । तर महिला कलाकार नै भएको हिसावले पारिश्रमिक पुरुषभन्दा घटी हुन्छ ।’

पछिल्लो समय विभेदमा केही कमी भए पनि पूरै हट्न नसकेको हमाल गुनासो गर्छिन् ।

अभिनेत्री खुस्बु खड्काले पनि पारिश्रमिकको विभेद रहेको बताइन् । ‘महिलालाई बजेट पनि थोरै छुट्याउने, हेला गर्ने, तोकिएको पनि नदिने, बाँकी राख्ने समेत गरिन्छ,’ खड्का थप्छिन्, ‘मेरो अझै ५÷७ वटा फिल्ममा पारिश्रमिक लिन बाँकी छ । कति माग्नु, कति धाउनु ! हैरान भैसकेँ ।’

अभिनेत्री सृष्टि श्रेष्ठ भने फिल्म क्षेत्रमा पारिश्रमिक असमानता नेपालमा मात्र नभएर विदेशमा समेत रहेको बताउँछिन् । ‘विदेशी कलाकारले पनि महिला र पुरुषमा समान पारिश्रमिकको कुरा उठाइरहेका छन्,’ श्रेष्ठले भनिन्, ‘एउटा फिल्ममा महिला हुन् वा पुरुष, एउटै टिम भएर काम गर्ने हो । राम्रो काम गर्न सबैले एकनासले मेहनत गर्नुपर्छ । त्यो हिसावले पारिश्रमिक एकनास दिनुपर्छ ।’

फिल्ममा मात्र नभएर जुनसूकै क्षेत्रमा पनि समान कामको समान पारिश्रमिक हुनुपर्ने श्रेष्ठको धारणा छ । ‘म भर्खर सिक्दैछु । मैले पारिश्रमिक विभेद महसुस गरेको छैन,’ उनले थपिन् ।

पारिश्रमिकमा पुरुष र महिलाबीचको विभेद विस्तारै हट्दै गएको अभिनेत्री करिस्मा मानन्धर बताउँछिन् । ‘मैले लिड गरेको समयमा पुरुषको तुलनामा महिलाको पारिश्रमिक धेरै कम त थिएन । केही थोरै थियो । अहिले त त्यो अवस्था पनि छैन भन्ने लागेको छ,’ करिस्माले थपिन् ।