काठमाडौं — सन् १९९० को दशकमा लक्की, डिक्की र निक्की क्षेत्रीले पोखरामा लज चलाउँदै गर्दा अन्नपूर्ण आधार शिविर तथा अन्नपूर्ण सर्किटमा जाने महिला पदयात्रीसँग राम्रो सम्बन्ध थियो । त्यतिबेला महिला पदयात्रीको संख्या धेरै नहुँदा आफूले भोग्नुपरेका धेरै समस्या उनीहरुलाई सुनाउँथे ।
प्रायः ट्रेकिङको क्रममा पुरुष गाइडले उनीहरुमाथि गरेको दुर्व्यवहारका गुनासो धेरै थिए । यो नेपालको मात्रै नभएर दक्षिण एसियाका धेरैजसो ठाउँमा सामना गर्नुपरेको साझा समस्या थियो । होटल चलाएर बसेका ती तीन दिदीबहिनीले यस्ता गुनासाहरु सुनेपछि त्यसको समाधानको प्रयास गर्ने अठोट लिए र सुरु गरे ‘थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ’ ।
थ्री सिस्टरमध्येकी एक लक्की भन्छिन्, ‘यस्ता गुनासाहरु सुनिसकेपछि हामीले यसबारे केही गर्न सक्छौं कि भन्नेमा ध्यान दियौं, ताकि हाम्रो प्रयासले नेपालको समाज र पर्यटन क्षेत्रलाई फाइदा पुगोस् । त्यो हामीबाट सम्भव छ भन्ने सोचेर नै यो क्षेत्रमा लागेका हौं ।’
तर उनीहरु दृढ इच्छाशक्तिका साथ अघि बढे । शंका र प्रश्न गर्नेहरू गलत साबित भए । सबैको बीचमा विश्वास निर्माण गर्न समय लाग्यो, तर उनीहरु सक्षम भए । पुरुषहरूले समेत महिला गाइडको कामको प्रशंसा गर्न थाले ।
सन् १९९४ मा अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रासँगै थ्री सिस्टर एड्भेन्चरको सुरुवात भयो । उनीहरुले विशेषगरी महिला गाइडहरुलाई प्राथमिकता दिन थाले, साथै उनीहरुले ट्रेकिङको क्रममा भोगेका समस्यामाथि बिस्तारै समाधान खोज्दै पनि गए । त्यतिबेला ट्रेकिङ व्यवसायमा पुरुषहरुको बोलवाला चल्थ्यो । एकाधबाहेक यस क्षेत्रमा महिलाको संख्या न्यून थियो ।
थ्री सिस्टरले प्रारम्भिक चरणमा ग्रामीण भेगका महिलाहरुलाई यस क्षेत्रमा संलग्न गराउन थाल्यो । महिलालाई गाइडको पेसामा लगाउँदा उनीहरुमाथि पनि धेरै प्रश्न नउठेका होइनन्, तर उनीहरु चुपचाप आफ्नो अभियानमा लागे । उनीहरु मौन नै रहे तर विस्तारै उनीहरुमाथि उठेका प्रश्नको उत्तर उनीहरुले कामबाट दिन थाले । उनीहरुले सुरुसुरुमा पहाडी महिलालाई मार्गदर्शन गर्न चाहन्थे । तर त्यो कति सम्भव छ भन्ने यकिन थिएन । तर एबीसीबाट फर्किएपछि उनीहरूले यो सम्भव छ भन्ने बुझे । केही वर्षसम्म तीन दिदीबहिनी आफैंले ट्रेकिङ सेवा सञ्चालन गरे ।
सन् १९९० को दशकको उत्तरार्धमा तीन दिदीबहिनीको सेवा विदेशी पर्यटकमाझ चर्चित हुँदै गयो । थ्री सिस्टरको लोकप्रियता बढ्दै गएपछि विस्तारै थप जनशक्तिको माग बढ्दै गयो । उनीहरुले महिला भर्ती गर्ने र महिला सशक्तीकरणको तालिम दिन सुरु गरे । पहाडी ग्रामीण महिलालाई गाइड बनाउने उनीहरुको प्रयास सफल हुँदै गयो ।
उनीहरुले घरमा श्रीमानसँग सम्बन्धविच्छेद भएका वा विभिन्न कारणले घरबाट निकालिएका महिलाहरुलाई सशक्तीकरण गर्न थाले । पुरुषको काममा महिलालाई समावेश गराइएको र अपरिचितसँग घुम्न पठाउनु उचित नहुने भन्दै उनीहरुमाथि निरन्तर प्रश्नचिह्न खडा भइरह्यो । तर त्यसमा गलत केही थिएन, त्यसैले उनीहरु विचलित भएनन् । बिस्तारै वर्ष बित्दै गए, यसलाई समाजले पनि सहज रुपमा स्वीकार्दै गयो । प्रश्न पनि कम हुँदै गए ।
‘हामीले एक अर्थमा क्रान्ति गर्न सफल भयौं,’ लक्की भन्छिन्, ‘सुरुसुरुमा समाजको बुझाइभन्दा फरक विषयलाई निरन्तरता दिन सक्छौं कि सक्दैनौं भन्नेमा हामी नै पूरा विश्वास गर्न सकिरहेका थिएनौं ।’
तर उनीहरु दृढ इच्छाशक्तिका साथ अघि बढे । शंका र प्रश्न गर्नेहरू गलत साबित भए । सबैको बीचमा विश्वास निर्माण गर्न समय लाग्यो, तर उनीहरु सक्षम भए । पुरुषहरूले समेत महिला गाइडको कामको प्रशंसा गर्न थाले ।
महिला गाइडहरुले काम गरिरहेको भएपनि उनीहरुलाई अझै तालिम दिनुपर्ने आवश्यकता थियो । तर संयोगले सीटीईभीटीमार्फत पोखरामा तालिमको व्यवस्था भयो । उनीहरु भन्छन्, ‘तालिम शिक्षित व्यक्तिहरुको लागि प्रभावकारी नै थियो, तर कहिल्यै विद्यालय नगएका महिलाहरूका लागि धेरै प्रभावकारी भएन ।’
त्यसपछि उनीहरु आफैंले ग्रामीण भेगका लेखपढ गर्न नजान्ने महिलाका लागि छुट्टै पाठ्यक्रम बनाए । ‘ग्रामीण भेगका महिलाहरूका लागि उपयुक्त हुने पाठ्यक्रम बनाउन हामीलाई दुई वर्ष लाग्यो । हामी अब निरन्तर प्रशिक्षण जारी राख्छौं,’ उनीहरु भन्छन् ।
ग्रामीण महिलाहरुलाई दिइएको तालिममा देखिएको सफलतासँगै सहरी क्षेत्रका महिलाहरुमा समेत यसप्रति चासो बढ्न थाल्यो । यसले फेरि अर्काे चुनौती थप्यो उनीहरुलाई । सहरका धेरैजसो महिलाहरुलाई हिंड्न समस्या हुने र गाउँका महिलालाई बोल्न समस्या हुने भएकाले यसको सन्तुलन मिलाउनुपर्ने भयो ।
लक्कीका अनुसार थ्री सिस्टरले अहिले एक सिजनमा नेपालभरका २०० महिला गाइडलाई रोजगारी दिन्छ । महिला गाइडको आवश्यक बीमा र उपकरणहरूको सबै व्यवस्था पनि यही संस्थाले गर्दछ । थ्री सिस्टरले नेपालका अलावा भुटान, तिब्बत र भारतका विभिन्न ठाउँमा समेत आफ्नो सेवा दिने गरेको छ ।
तीन दशक पुरानो व्यवसायमा बेलाबेलामा आउने प्राकृतिक प्रकोप र देशमा भएका राजनीतिक उथलपुथलले समस्या ल्याए । तर ती सबै समस्याहरुसँग उनीहरु लड्दै आए । तर अब बढ्दै गएको जलवायु परिवर्तनको ठूलो चुनौती पो सामना गर्नुपर्ने हो कि ? भन्ने चिन्ता उनीहरुलाई छ ।
लक्की भन्छिन्, ‘अब हाम्रो लागि चुनौती भनेको जलवायु परिवर्तनले निम्त्याउने संकट हो । हामीले धेरैलाई प्रशिक्षित त गरेका छौं, तर यसले ठूलो जोखिम निम्त्याउँछ भन्ने हामीलाई लागेको छ ।’
ट्रेकिङका अलावा थ्री सिस्टरले विभिन्न क्षेत्रमा कार्यरत बालबालिकाको उद्धार गरी उनीहरुलाई इम्फावरमेन्ट फर वमन नामक संस्थामार्फत पालनपोषण र शिक्षाको व्यवस्था समेत गर्ने गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनसँग मिलेर काम गर्दै आएको लक्की बताउँछिन् ।
तस्वीरहरु ः थ्री सिस्टर एड्भेन्चर ट्रेकिङबाट प्राप्त