फाइल तस्वीर
नेपालगञ्ज – बाँके प्रहरीले सोमबार राती खजुरा गाउँपालिका वडा नं. १, बहादुरपुरका गल्छी भन्ने रविन्द्र थापाको घरमा छापा मा¥यो । थापाको घरमा ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई सुराक आएको थियो ।

इलाका प्रहरी कार्यालय, धनौली र राधापुर प्रहरी चौकीबाट गएको टोलीले थापाको घरमा खानतलासी गर्दा ९० ग्राम ब्राउनसुगर र अटोमेटिक पेस्तोल भेटियो । थापा सुत्ने कोठामा पेस्तोल भेटिएको थियो ।

फाल्गुन १७ गते साँझ राप्ती नदी पुलतिर गोली चलेको आवाज आयो । इलाका प्रहरी कार्यालय, वनकट्टी (क) बाट प्रहरीको टोली राप्ती पुलतिर निस्किए । त्यही नजिकै गाडी देखियो ।

त्यसलाई खानतलासी गर्दा मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल बरामद भयो । पेस्तोलमा लोड गरेको सात थान र गाडीको सीटमा दुई थान गोली भेटियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का दिपेन्द्र अधिकारीले अटोमेटिक पेस्तोल बोकेर हिडेका थिए । अधिकारीले नै त्यो दिन दुई राउण्ड फायर गरेका थिए ।

यी दुई घटनाले पनि बाँकेमा साना हतियारको बिगबिगी रहेको देखिन्छ । भारतमा सजिलै किन्न पाइने भएकाले बाँकेका युवाले पेस्तोल बोकेर हिड्ने गरेका हुन् ।

नेपाली सेनासँग मात्रै रहेको अटोमेटिक पेस्तोल अधिकारीले भारतको लखनऊबाट ५० हजार भारुमा किनेर ल्याएका थिए । अधिकारी र थापाले खुलेयाम पेस्तोल बोकेर हिड्ने गरेका थिए ।

बाँकेमा माघ २९ गते दुई जना भारतीयलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो । त्यसअघि कोहलपुर प्रहरीले दुई वटा पेस्तोल बरामद गरेको थियो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले साना हतियार भारतमा सजिलै पाइने भएकाले खुल्ला नाकाबाट बाँकेमा पनि भित्रिएको बताउदै त्यस्ता हतियार नियन्त्रण गर्न प्रहरी लागि परेको बताए ।

अपराधिक पृष्ठभूमिका युवाले पेस्तोल बोकेर हिड्ने गरेका छन् । नेपालगञ्जमा सजिलै हतियार आइपुग्ने भएकाले युवाले पेस्तोल बोकेर हिड्ने गरेका छन् ।

कतिपय भारतीय नेपालगञ्जसम्म नै हतियार बिक्री गर्न आइपुग्ने गरेको पाइन्छ । केही अघि नेपालगञ्जमा हतियार बिक्री गर्न आउदा भारतीय पक्राउ परेका छन् ।

२० हजार रुपैयामा पेस्तोल किनबेच हुने गरेको बताइन्छ । प्रहरीले डन प्रवृत्तिका युवाको राम्ररी खानतलासी गर्ने हो भने यस्ता साना हतियार भेटिन सक्ने जानकारहरु बताउँछन् ।