फाइल तस्वीर
रौतहट — नेपाली काँग्रेस रौतहटको सभापतिमा संस्थापन पक्षका सुनिल कुमार यादव विजयी भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ७ पदाधिकारीसहित ८९ सदस्य पदका लागि सोमवार भएको निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला पक्षका हृदयनारायण राय यादवलाई २ सय ९८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

सदरमुकाम गौरमा मंगलवार बिहान सम्पन्न पदाधिकारीहरुको मतगणनाअनुसार, सुनिलले एक हजार ३ सय ६२ र हृदयनारायणले एक हजार ६४ मत प्राप्त गरेका थिए ।
यसैगरी उपसभापतिमा रामलोचन प्रसाद कलवार एक हजार ३ सय ८३ र धिरेन्द्र कुमार सिंह एक हजार २ सय ८७ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरु कोइराला पक्षका महम्मद महताब आलम (११९१), विनोद गुप्ता (८२५) लाई पाखा लगाउँदै विजयी भएका हुन् ।

यसैगरी सचिवमा संस्थापन पक्षका राजेश चौधरी एक हजार ३ सय ९ र कोइराला पक्षका रामचन्द्र गिरीले एक हजार एक सय ४२ मत प्राप्त गरी विजयी भएका छन् ।
सचिवमा संस्थापन पक्षका सुवास कोइराला (११३२) र कोइराला पक्षका सुमन गौतम (८८५) लाई पराजित भए ।

यसैगरी सह–सचिवमा संस्थापन पक्षका सिकिन्द्र प्रसाद पटेल एक हजार २ सय ४१ र महम्मद फिरोज आलम एक हजार ३ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै कोइराला पक्षका धर्मेन्द्र प्रसाद (१०५१) र माजिद अली (९७१) पराजित भए ।

सदस्यको गणना अझै बाँकी रहेको निर्वाचन अधिकारीले बताएका छन् । जितसँगै संस्थापन पक्षले गौरमा विजय जुलुश निकालेको छ ।