साङ्केतिक तस्वीर

बाँके – बाँकेस्थित धनौली इलाका प्रहरी कार्यालयले खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट पेस्तोल र ब्राउन सुगरसहित तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले ति अभियुक्रहरुलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा २५ वर्षका गल्छी भनिने रविन्द्र थापा, खजुरा गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिष थापा र नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका सुरेश रोका मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीले रविन्द्र थापाको घरमा खानतलासी गर्दा ९० ग्राम ब्राउन सुगर सहित पेस्तोलसमेत बरामत गरेको छ ।

खजुरा–१ स्थित बहादुरपुरमा रहेको रविन्द्र थापाको घरछेउबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद भएको पेस्तोलको म्याग्जिन भने फेला परेको छैन् । प्रहरीका अनुसार मनिष थापा र सुरेश रोका मगर रविन्द्र थापासँग लागु औषधका कारोबार गर्न उनको घरमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपीहरु विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।