फाइल तस्वीर
किभ– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनमा जारी युद्धको गम्भीर प्रभाव विश्व अर्थतन्त्रमा पर्ने चेतावनी दिएको छ । युद्धको प्रभाव अर्थतन्त्रमा अहिले नै देखिएको र अस्थिर अवस्था रहेकाले विश्व अर्थतन्त्र थप गम्भीर अवस्थातिर धकेलिने सक्ने भन्दै आइएमएफले यस्तो चेतावनी दिएको हो । युक्रेनमा जारी युद्धका कारण त्यहाँ मानवीय र आर्थिक सङ्कट चुलिंदै गएको छ ।

आइएमएफले शनिबार एक वक्तव्य जारी गर्दै ‘युद्ध जति लम्बिन्छ, त्यति नै अर्थतन्त्रमा गम्भीर असर पर्ने छ’ भनेको छ । युद्धका कारण अन्तर्राष्ट्रिय रुपमै मुद्रास्फीतिलाई बढाएको आइएमएफले उल्लेख गरेको छ । युद्धरत रुस र युक्रेनसँग सीधा आर्थिक सम्बन्ध रहेका मुलुकहरुमा थप सङ्कट आउन सक्ने समेत अन्तर्राष्ट्रिय मुद्रा कोषले चेतावनी दिएको छ ।

इन्धन तथा खाद्य बस्तुको भाउ बढेको र यसले हाल कायम रहेको मुद्रास्फीतिलाई थप बढाएको कोषले जनाएको छ । युद्धका कारण रुसमाथि प्रतिबन्ध बढाउँदै लग्दा उसले तेल निर्यातलाई रोकेको छ ।