फाइल तस्वीर
मस्को– युक्रेनमाथि गरिरहेको आक्रमणका क्रममा सम्भावित अमेरिकी र नेटो सम्बद्ध सैन्यबललाई दृष्टिगत गर्दै परमाणु हतियार उच्च शतर्कतासहित तयारी अवस्थामा रहन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ । रुसले युक्रेनमाथि फेब्रअरी २४ तारिखदेखि आक्रमण थालेपछि जेलेन्स्की लगातार विश्वका विभिन्न देशका नेताहरुसँग निरन्तर वार्ता गरिरहनु भएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनसँगको टेलिफोन संवादको क्रममा युक्रेनको हालको सुरक्षा अवस्था तथा सुरक्षा एवम् आर्थिक सहायताका सम्बन्धमा छलफल भएको युक्रेनी समकक्षी जेलेन्स्कीले ट्वीटमार्फत जानकारी दिनु भएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग लड्न नेटो र नेटो सम्बद्ध देशहरुसँग हतियार उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ ।

टेलिफोन वार्तामा बाइडेनले आफ्नो प्रशासन युक्रेनलाई सुरक्षा, मानवीय तथा आर्थिक सहायता थप गर्न प्रतिबद्ध रहेको बताएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । संवादमा रुसमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल भएको छ । राष्ट्रपति बाइडेनले थप सहयोग सुनिश्चित गर्न आफ्नो प्रशासनले सदनसँग सहकार्य गरिरहेको पनि उल्लेख गर्नुभएको छ । बाइडेनले भिजा र मास्टरकार्डले आफ्नो सेवा रुसमा बन्द गर्ने निर्णय गरेको भन्दै त्यसको स्वागतसमेत गर्नुभएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इजरायलका प्रधानमन्त्रीसँग पनि टेलिफोन संवाद गर्नु भएको छ । इजरायल अमेरिकाको निकट सहयात्री भए पनि प्रधानमन्त्री नाफ्टाली बेनेट्टले रुससँगको सम्बन्ध बिगार्न चाहनु भएको छैन । बेनेट्टले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो संवाद गरेपछि जेलेन्स्की र उहाँबीच टेलिफोन वार्ता भएको हो । जेलेन्स्कीको आग्रहमा इजरायलले युक्रेन–रुस वार्ताका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।