झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश–१ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश–१ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश–१ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, “कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँको धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।”

उहाँले अर्को प्रसङ्गमा नेपाली काङ्ग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गर्नुभयो । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको काङ्ग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप समेत लगाउनुभएको छ ।