काठमाडौं – प्रहरी हौं भनी धम्काउँदै लुटपाट गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका–५ जुम्लाका देविप्रसाद धिताल, धुनिबेशी –३ धादिङका शङ्कर रेग्मी, महाकाली–२ डडेल्धुराका हिक्मत महरा र शुक्लाफाँटा–४ कञ्चनपुरका सुवाष रतोकी रहेका छन् ।

त्यस्तै शुक्लाफाँटा–२ कञ्चनपुरका मिलन बोहरा, याङ्गक–८ पाँचथरका भविन्द्र बेगा, नौमुले–५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द्र र गौमुखी–६ प्युठानका कमल सुनार पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार गत फागुन १२ गते साँझ उनीहरूले काठमाडौं महानगरपालिका–१६ स्थित राजेन्द्र साँकीको फार्मेसीमा लुटपाट गरेका थिए ।

उनीहरूले अवैध औषधि बिक्री गरेको भन्दै फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएर ६५ हजार रूपैयाँ लुटपाट गरेको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट ११ थान मोबाइल, ५ थान एटीएम, दुईथान चेक र एकथान घडी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।