फाइल तस्वीर
ललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहे पनि कोरोनाको कारण सफल हुन नसकेको बताए ।

उनले आजबाट लागू हुनेगरी सुरु भएको धूमपान निषेधित क्षेत्रमा सुरुवाती ७ दिन धूमपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना तिराउने बताए । जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो । नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन । तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छौं’, मेयर महर्जनले भने, ‘दुई वर्षअघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण सफल हुन सकेनौँ । स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ । अहिले हामीले जावलाखेल, पुल्चोक र पाटन दरबार स्क्वायर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ ।’

उनले सरकारले विभिन्न कानुन तर्जुमा गरे पनि कार्यान्वयन नगरेको दावी गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।