फाइल तस्बिर

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीको खुलामञ्चमा जनसभा गर्दै छन्।

फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले शुक्रबार खुलामञ्चमा जनसभा आयोजना गर्न लागेका हुन्। जनसभाअघि माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट छुट्टाछुट्टै ¥याली निकालिनेछन्। बिहान ११ बजे ¥याली सुरु हुने र १२ बजे सभा हुने बताइएको छ।

जनसभामा अतिथि बन्न एमसीसीको विरुद्धमा रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता भीम रावललगायतलाई निमन्त्रणा गरिएको छ। यसका लागि विप्लव आफै नेताहरुलाई भेट्न पुगेका थिए।

आयोजकका तर्फबाट विप्लवसहित खनाल, श्रेष्ठ, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, मसालका अध्यक्ष मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका ऋषि कट्टेल, माओवादी समाजवादीका कर्णजीत बुढाथोकी, वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल आहुतिलगायतले बोल्ने जानकारी गराइएको थियो।

त्यसलगत्तै एकीकृत समाजवादीका नेता खनालको सचिवालयले उक्त जनसभामा खनालले बोल्ने कुनै कार्यक्रम नभएको जनाएको थियो।

नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसीसी सम्झौताविरुद्ध आन्दोलनमा छन्।

यो मोर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तरक्रिया गर्दैछ। फागुन २४ मा देशव्यापी विरोध प्रदर्शन र सभा गर्नेछ। फागुन २६ मा विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ। फागुन २८ मा युवाहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ ।