काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । यो सातामा तीन दिनमात्रै नेप्से कारोवार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४ दशमलव ०४ अङ्कले गिरावट आएको हो ।

अघिल्लो साताको बुधबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचकमा गत साताको अन्तिम कारोबारको दिन बिहीबार २ हजार ६६१ दशमलव ४४ विन्दुमा रोकिएको थियो । यो साताको बुधबारसम्मको कारोबारमा ११४ दशमलव ०४ अङ्कले गिरावट आएर २ हजार ५४७ दशमलव ०४ विन्दुमा खुम्चिएको छ । प्रतिशतका हिसाबले हेर्दा पछिल्लो तीन दिनको कारोबारमा नेप्से परिसूचक ४ दशमलव ३ प्रतिशत गिरावट आएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ७ दशमलव ७३ अङ्कले घटेको थियो। आइतबार सेन्सेटिभ इण्डेक्स ०.७३ अङ्कले, फ्लोट इण्डेक्स ० दशमलव ६९ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ४६ अङ्कले घटेको थियो । उक्त दिन कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक १ दशमलव ६२ प्रतिशतले घटेर २६१० दशमलव ६० विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । मंगलबार महाशिव रात्री पर्व परेकाले नेप्से कारोबार बन्द भएको थियो ।

बुधबार नेप्से परिसूचक ६३ भन्दा बढी अङ्कले घटेर २ हजार ५४६ दशमलव ६० विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ११ दशमलव ५२ अङ्कले, फ्लोट इण्डेक्स ४ दशमलव ३७ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलव ६१ अङ्कले गिरावट आएको छ । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएकाले नेप्से कोरोबार पनि बन्द रहेको छ ।

बुधबारसम्म आइपुग्दा तेब्बर अङ्कले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले १ खर्ब ६२ अर्ब २ करोड अधिक पूँजी गुमाएका छन् । गत साताको अन्तिम कारोबारसम्म ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ ।