धनुषा – तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भोलि बिहीबारदेखि हुने उक्त महोत्सव २१ फागुनसम्म चल्ने आयोजकले जनाएको छ ।

महोत्सवबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक राकेशविक्रम साहले जनकपुरसहित मधेस प्रदेशमा साहित्यक अवस्था, सम्भावनाबारे व्यापक छलफल गरी साहित्यिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । महोत्सवमा देशभरिका ख्यातिप्राप्त स्रष्टाहरूको सहभागिता रहने उहाँको भनाइ थियो ।

साहित्य महोत्सवअन्तर्गत फागुन २० गते समाजमा विभेद, मधेसमा ‘उद्यमी र मधेसको उद्योग तथा शिक्षा संस्कार’ विषयक कार्यपत्रमाथि विश्लेषक डा. रामेश कोइलारा, प्राध्यापक डा. सुष्मा द्विवेदी, विश्लेषक तुलानारायण साह, पवन मण्डल लगायतका विज्ञहरूले छलफल गर्ने कार्यक्रम तय भएको संयोजक साहले बताउनुभयो ।

यस्तै २१ फागुनमा ‘महिला र राजनीति’ विषयमा प्रदेशसभा सदस्य मञ्जु यादव, पत्रकार सलमा खातुन, एलिजा ढकाल, चमेलीदेवी दास तथा ‘कसको लोकतन्त्र कस्तो लोकतन्त्र’ विषयमा राजनीतिज्ञ सरिता गिरी, विश्लेषक सिके लाल र हरि शर्माले टिप्पणी गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

त्यस्तै ‘मधेस ः एक अवसर’ विषयक कार्यपत्रमाथि सांसद विनोद चौधरी, राष्ट्रियसभा सदस्य डा. बिमला राई पौडेल तथा ‘परिवर्तनको सिद्धान्त’ विषयमा नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापाले प्रस्तुति गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

साहित्य महोत्सवमा वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘मधेस, साहित्य र म’ विषयमा कार्यक्रम प्रस्तुत गर्ने तय भएको जनाइएको छ । रासस