फाइल तस्वीर
किभ– रुसद्वारा युक्रेनमा जारी आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘तानाशाहीले मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् । रुस र युक्रेनबीचको जारी युद्धका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले संसदलाई सम्बोधन गर्दै तानाशाहीले मूल्य चुकाउनु पर्ने र उसको जित नहुने बताएका हुन् ।

युक्रेनमाथि युद्ध गर्दा पश्चिमा देशले कस्तो गम्भीर जवाफ दिन्छन् भनेर रुसी राष्ट्रपति पुटिनले आङ्कलन गर्न नसकेको वा उनको आङ्कलन गलत बनेको अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् । संसदलाई सम्बोधन गर्दै बाइडेनले ‘निरङ्कुशतामाथि जहिले पनि स्वतन्त्रताले अटल विजय प्राप्त गर्छ’ भनेका छन् ।

महामारीबाट उठ्ने प्रयासमा रहेको अमेरिकी अर्थतन्त्र मुद्रास्फीतिसँग सङ्घर्ष गरिरहेको र युक्रेनमाथि रुसी आक्रमणले त्यसलाई थप बढाउने देखिएका बेला बाइडेनले संसदमा सम्बोधन गरेका हुन् । अन्तर्राष्ट्रिय घटनाक्रमका कारण राष्ट्रपति बाइडेनको लोकप्रियता अहिले निकै कमजोर अवस्थामा पुगेको छ ।


बाइडेनले सांसदहरुलाई गरेको सम्बोधनमा पुटिनले विनाउक्साहट युक्रेनमाथि आक्रमण गरेको आरोप लगाएका छन् । समस्या समाधानका लागि बारम्बार गरिएको कूटनीतिक प्रयासलाई अस्वीकार गर्दै पुटिनले पूर्वयोजना अनुरुप नै आक्रमण गरेको बाइडेनको दावी छ ।

राष्ट्रपति बाइडेनले भने ‘पुटिनले पश्चिमा राष्ट्र र नेटोले जवाफ दिँदैन भन्ने सोचे । अमेरिकामा पनि आन्तरिक विभाजन ल्याउन सक्छु भन्ने उनले ठाने । तर पुटिन गलत थिए । हामी तयारी अवस्थामा थियौं ।’ राष्ट्रपति बाइडेनले अमेरिकी हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाउने घोषणा समेत गरेका छन् । युरोपियन युनियन र क्यानडाले पनि यसअघि नै रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाइसकेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन र युरोपियन युनियनले रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउँदै जाने पनि बताएका छन् । सम्बोधनको क्रममा अमेरिकाका लागि युक्रेनी राजदूत ओक्साना मार्कोरोभा विशिष्ट कक्षमा प्रथम महिला डा जिल बाइडेनसँग बसेकी थिइन् ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि बाइडेन प्रशासनले गरेको काम तथा गएको वर्ष अफगानिस्तानबाट अमेरिकी सैनिकको खराब बहिर्गमन एवम् बेरोजगारी, मुद्रास्फीति तथा हत्याका घटना बढेकाले अमेरिकीहरु निराश देखिएका छन् । यसको प्रभाव राष्ट्रपति बाइडेनको लोकप्रियतामा परेको छ ।


बाइडेनले अमेरिकाको नेतृत्व सम्हालेपछि अफगानिस्तानमा तालिवान विद्रोहीहरुले नाटकीय रुपमा सत्ता कब्जा गरेका थिए भने चीनसँगको विवाद चुलिंदै गएको थियो । यतिबेला युक्रेनका कारण रुससँगको सम्बन्धमा ठूलो दरार आएको छ । अमेरिकाको अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुगेको अमेरिकीहरुको विश्लेषण छ ।