खाँदबारी – सङ्खुवासभाको चैनपुर नगरपालिका–७, बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एकजना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७, फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

अस्थायी प्रहरीचौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइराखेको मृत रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरेको हो । रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एकथान भरुवा बन्दुक समेत फेलापरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत सङ्खुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । थप अनुसन्धानका लागि मृत मृगलाई चैनपुर सबडिभिजन वन कार्यालय पोखरी पठाइएको छ । पक्राउ परेका श्रेष्ठलाई हातहतियार खर–खजाना मुद्दामा म्याद थप गरिएको छ । रासस