महोत्तरी – महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभा यात्रा गर्दै शङ्कर चोक, दुर्गा चोक, अस्पताल चोक, बुद्धिजीवी चोक र जिरोमाइल चोकसहित नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

यात्रामा स्थानीय राजनीतिकर्मी, नागरिक समाज, व्यापारी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । कलश शोभायात्रामा भूत, बैताल, शङ्कर, पार्वती, गणेशलगायतका आकृतिको झाँकी पनि प्रस्तुत गरिएको थियो । महाशिवरात्रिको अवसरमा प्रत्येक वर्ष कलश शोभा यात्रा निकालिने गरिएको छ ।