काठमाडौं – नेपालमा आइतबार थप १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

देशभर ६ हजार ४ सय ८६ जनाको पीसीआर विधि र ३ हजार २ सय २४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना सङक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ३५ जना पुगेको छ ।

आइतबार ४ सय १५ जना कोरोना सङक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ८ हजार ५ सय १७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।काठमाडौंमा ३० जना, भक्तपुरमा ३ जना र ललितपुरमा ३ जना सङ्क्रमित थपिएका हुन् ।

हालसम्म काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ७ सय ६७ पुगेको छ । देशभर ८ हजार २ सय ८५ जना होम आइसोलेसनमा, २ सय ३२ जना संस्थागत आइसोलेसनमा, ८१ जना आईसीयू तथा १० जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।