फाइल तस्वीर
कर्णाली — गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा भेरीगङ्गा नगरपालिकाका–१ वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ । शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो ।


काठमाडौंस्थित बाँसबारी न्यूरो अस्पतालमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो । यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा –१२ सुर्खेतस्थित राजीगाउँमा उनी सवार भे६प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश०२००१ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो ।


उक्त दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वि सं २०४८ मा जन्मिएका उनी सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका थिए ।