काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तले गत फागुन ११ गते बुधबारदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ० दशमलव ५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको सङ्केत गर्दछ । लघुवित्तको हाल १७ करोड २१ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।