काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मुलुभरको आइतबार मौसममा बदलि हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मौसममा बदली भै केही स्थानमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको छ ।

अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ । आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै अरु क्षेत्रमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

यसैगरी राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।