मस्को – युक्रेनमाथि आक्रमणको विरोधमा रुसमा हजारौँ मान्छेले सडकमा प्रदर्शन गरेका छन् । राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायतका मुख्य शहरमा भएका प्रदर्शनमा प्रहरीले अहिलेसम्म १७ हजार जनालाई गिरफ्तार गरेको त्यहाँस्थित स्वतन्त्र मानव अधिकार समूहलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसले हिजोदेखि युक्रेनका विभिन्न शहरलाई लक्षित गरी सैन्य आक्रमण गरिरहेको छ । युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । विपक्षीहरूको प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोले मस्कोमा ९ सय र सेन्ट पिटर्सबर्गमा ४ सय जना प्रदर्शनकारी गिरफ्तारीमा परेका जनाएको छ ।

बीबीसीका अनुसार युद्ध र आक्रमणको विरोधमा प्लेकार्डसहित हजारौँ मानिस सडकमा रहेको सामाजिक सञ्जालमा राखिएका पोस्टमा देखिन्छ । रुसमा मात्र होइन, संसारका अरू देशका कतिपय शहरमा पनि युद्धको विरोधमा प्रदर्शनहरू भएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगको कार्यालयअगाडि सयौँ प्रदर्शनकारीले नाराबाजी गरेका छन् । युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

रुसले कब्जा गरेको भनिएको क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिएको दाबी युक्रेनले गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लडाइँ जारी रहने बताएका छन् । भिडियो सन्देशमा उनले बताएअनुसार अहिलेसम्म सेना र सर्वसाधारण गरी १ सय ३७ युक्रेनी नागरिकले ज्यान गुमाएका छन् । युद्धका कारण एक लाखभन्दा बढी मानिस युक्रेन छोडेर भागेको अनुमान संयुक्त राष्टसङ्घले गरेको छ ।