काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म जारी गरेको ८ करोड ५० लाख रुपैयाँ बराबरको कुल ८ लाख ५० हजार कित्ता सेयर आज बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार बिहीबार गोला प्रथामार्फत भएको आईपीओ बाँडफाँडमा ७९ हजार ४ सय ५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी २५ लाख ५ हजार ८ सय ११ जना आवेदकहरुको हात खालि भएको छ ।
एनआईबीएल एस क्यापिटलका अनुसार सेयर निष्काशनको अन्तिम दिनसम्म कुल २५ लाख ८५ हजार २ सय ६१ जनाले आईपीओ खरिदका लागि आवेदन दिएका थिए । सो मध्ये ५ हजार ८ सय ५९ आवेदकहरुको आवेदन रद्द भएको थियो । यो हिसाबले कुल आवेदकहरु मध्ये ३ दशमलव ०८ प्रतिशतले मात्र कम्पनीको सेयर प्राप्त गर्न सकेका छन् भने बाँकी ९६ दशमलव ९२ प्रतिशतको हात खालि भएको छ ।

कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म गरी जम्मा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ४२ हजार ५ सय कित्ता सेयर अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ० दशमलव ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो ।