फाइल तस्वीर
मस्को— रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्ने घोषणा गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन सम्बोधन गर्दै युक्रेनको डोन्बास क्षेत्रमा सैन्य आक्रमणको घोषणा गरेका हुन् । डोन्बासको दुई वटा क्षेत्र डोनेत्स्क र लुहान्स्कलाई सोमबार स्वतन्त्र राज्यको घोषणा गरेपछि उत्पन्न सङ्कटले युक्रेन र रुसबीचको सम्बन्ध जटिल बन्दै गएको छ ।

यता संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनमा युद्धको घोषणा नगर्न आग्रह गरेकै बेला रुसी राष्ट्रपति पुटिनले टेलिभिजन सम्बोधनमार्फत् युद्धको घोषणा गरेका हुन् । सम्बोधनमा पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई हतियार बिसाएर ‘आफ्नो घर फर्किन’ आग्रह गरेका छन् ।

कुनै पनि प्रकारको युद्ध भएमा वा रगत बगेमा त्यसको जिम्मेवार युक्रेन हुने चेतावनी समेत राष्ट्रपति पुटिनले दिएका छन् । पुटिनले युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति पुटिनको आदेशसँगै डोनेत्स्क क्षेत्रमा बिस्फोटको आवाज आएका छन् । पुटिनले युद्धको घोषणा गर्दै गर्दा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पुटिनसँग युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् । सुरक्षा परिषदको बैठकमा बोल्दै महासचिवले शान्तिको मार्गलाई अवसर दिन आग्रह गरेका हुन् । तर पुटिनले आफ्ना सैनिकलाई आक्रमणको आदेश दिएसँगै स्वतन्त्र घोषणा गरेका डोनेट्स्क र लुहान्स्कसहितका क्षेत्रमा बमबारीको भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । युक्रेनको राजधानी किएभमा पनि बिस्फोटको आवाज सुनिएको सिएनएनले जनाएको छ ।