फाइल तस्वीर
युक्रेनमा आपत्काल लागु भएको छ । युक्रेन र रुसबीचको बढ्दो युद्धको खतराले त्यहाँ आपत्कालको घोषणा गरिएको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ३० दिनका लागि देशमा आपत्काल लागु गर्ने विषयमा संसद्मा प्रस्ताव गरेका थिए । राष्ट्रपतिको प्रस्तावलाई संसदले अनुमोदन गरेको हो । युक्रेनमा नेपाली समयअनुसार बिहीबार बिहानदेखि आपत्कालको घोषणा गरिएको छ । आपत्कालको घोषणाको आदेश अनुसार नागरिकको आवतजावतमा प्रतिबन्ध लागु गर्न पाउने अधिकार सरकारी अधिकारीलाई दिइएको छ ।


देशभित्र विद्रोहीले युद्ध भड्काउन सक्ने हुँदा युक्रेनी सरकारले राष्ट्रिय सुरक्षालाई त्यहाँ राजनीतिक दल र संगठनहरुमाथि पनि प्रतिबन्ध लगाउन सक्ने अधिकार दिएको छ । युक्रेनी सरकारले युद्धको सम्भावित खतरा देखेर उमेर पुगेका सबै पुरुषले अनिवार्य रुपमा सैन्य सेवा गर्नु पर्ने पनि घोषणा गरेको छ ।


दक्षिणपूर्वी युक्रेनका दुई क्षेत्र डोनेत्स्क र लुहान्सकलाई विद्रोहीहरुले आफ्नो कब्जामा लिएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार एक टेलिभिजनमा सम्बोधन गर्दै स्वतन्त्र राज्यको मान्यता दिएको सार्वजनिक रुपमा घोषणा गरेका थिए । त्यो घोषणालगतै रुसले आफ्ना सैनिक पठाउने निर्णय गरेपछि युद्धको सङ्केत गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ आएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सीमा क्षेत्रमा रुसले करिब दुई लाख सैनिक तैनाथ गरेको भनाइ छ । बुधबार अबेर टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनी जनतामा शान्तिको चाहना रहेको बताए थिए । युक्रेनले सम्भावित युद्धलाई मध्यनजर गर्दैरुसमा रहेका आफ्ना नागरिकहरुलाई तत्काल रुस छोड्न आग्रह गरेको छ । यस अघि रुसले किएभमा रहेको आफ्नो दूतावास खाली गर्न सुरुगरेपछि युक्रेनमा रुसी आक्रमणको तयारी हुनसक्ने बताइएको छ । राष्ट्रपति जेलेन्स्कीकोले रुसले युरोपमा ठूलो युद्धको तयारी गरेको समेत दावी गरेका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इमान्दार वार्ताका लागि आफु तयार भएको प्रतिक्रिया दिएका छन् । यद्यपि, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको प्रस्तावको जवाफ रुसी राष्ट्रपतिले नदिएको बताएका छन् । रुसले युक्रेनविरुद्ध सैन्य आक्रमणलाई स्वीकृत गरेको उनले बताए ।

रुसले युक्रेनको सीमा क्षेत्रमा करिब दुई लाख सैनिक तैनाथ गरेको जेलेन्स्कीको भनाइ छ । बुधबार अबेर टेलिभिजन सम्बोधन मार्फत युक्रेनी नागरिकको चाहना शान्ति रहेको बताए । युक्रेनी अधिकारी पनि शान्तिको खोजीमा रहेको उनले बताएका छन् । उनले रुसी नागरिकलाई सिधा सम्बोधन गरी शान्तिको कामना गरेका हुन् ।

रुसले युक्रेनको भूमिमा सैनिक तैनाथ गर्नु युरोपमा ठूलो युद्धको तयारी रहेको दावी गर्दै युक्रेनको डोन्बास क्षेत्रका दुई ठाउँलाई रुसले दिएको स्वतन्त्र राज्यको मान्यता जेलेन्स्कीले खारेज गरेका छन् । जेलेन्स्कीले रुसलाई चेतावनी दिँदै भने, ‘यदी उनीहरुले आक्रमण गरे, यदी उनीहरुले हाम्रो देश लिने प्रयास गरे, हाम्रो स्वतन्त्रता लिन खोजे, हाम्रो जीवन लिन खोजे, हाम्रा बालबालिकाको जीवन लिन खोजे भने हामीले हाम्रो भूमि र जीवनको रक्षा गर्ने छौं ।’