फाइल तस्वीर
काठमाडौं – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको १३ औं तथा अन्तिम चरणका खेलहरु भोलिदेखि काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो सार्वजनिक गरेको तालिका अनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणका खेलहरु फागुन १२ देखि १४ गते गरी तीन दिनसम्म सञ्चालन हुनेछन् ।

एन्फाले प्रकाशित गरेको खेल तालिका अनुसार फागुन १२ गते बिहीबार च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा हुनेछ भने हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । यी दुवै खेल दिउँसो १ बजेबाट सुरु हुने एन्फाले जनाएको छ ।

यसैगरी फागुन १३ गते शुक्रबार सङ्कटा क्लब र जाउलाखेल युथ क्लबबीच हुने छ । यी दुई टिमको घम्साघम्सी दशरथ रङ्गशालामा हुने छ भने तथा एन्फा कम्प्लेक्स सातदोबाटोमा थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको प्रतिस्पर्धा हुनेछ । दुवै खेलहरु दिउँसो १ बजेबाट खेलाइने छन् ।

अन्तिम दिन फागुन १४ गतेका दुवै खेलहरु दिउँसो १ बजेदेखि सुरु हुने छन् । शनिबार १४ गते न्यूरोड कर्नर टिम (एनआरटी) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दशरथ रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेल तालिकामा उल्लेख छ ।

लिगको अन्तिम खेलमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनिसकेको मछिन्द्र क्लब र शसस्त्र प्रहरीको एपीएफबीच अपरान्ह ४:४५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । मछिन्द्रले ११ औं चरणमै उपाधि पक्का गरेको थियो । चौध वटा क्लबले प्रतिस्पर्धा गरिरहेको जारी जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगबाट ब्रिगेड र च्यासल रेलिगेसन टिम अन्तिम पहिलो र दोस्रोमा रहेकाले यी दुई टिम ‘बी’ डिभिजनमा घटुवा भएका छन् ।