फाइल तस्वीर

मस्को– युक्रेनको दक्षिणपूर्वी दुई क्षेत्र लुहान्स्क र दोनेत्स्कसलाई स्वतन्त्र देशको मान्यता दिने रुसको घोषणा पछि अमेरिका, क्यानडा, बेलायतका साथै युरोपियन युनियन र पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । केही समयदेखि युक्रेन र रुसबीच तनाव बढ्दै आएको थियो । रुसले युक्रेनको लुहान्स्क र दोनेत्स्कसका विद्रोहीहरुलाई साथ दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यी दुई राज्यलाई क्रेमलिनबाट टेलिभिजनमार्फत् घोषणा गरेपछि अमेरिका, बेलायत लगायत पश्चिमा देशहरुले उसको निन्दा गरेका छन् । रुसले यी दुई राज्यलाई स्वतन्त्र मुलुकको मान्यता दिएको घोषणा गरेपछि रुस र युक्रेनबीचको जारी सङ्कटले युद्ध निम्त्याएको विश्लेषण हुन थालेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी बैंक, धनाढ्यसहितलाई प्रतिबन्धको घोषणा गर्दै रुसले युक्रेनमा आफ्नो गतिविधि बढाएमा थप प्रतिबन्ध लगाइने राष्ट्रपति बाइडेनले चेतावनी दिएका छन् । राष्ट्रपति बाइडेनले रुसको गतिविधि हेर्दै जाने र सोही आधारमा आफूहरुले प्रतिक्रिया दिने जनाएका छन् । यता रुसी राष्ट्रपति पुटिनले युक्रेनको अस्तित्वमाथि नै प्रश्न गरेको भन्दै आफूहरुको साथ युक्रेनलाई रहने बाइडेनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनलाई सहयोज जारी राख्ने र रुसले युद्धको बाटो रोज्न खोजे पनि आफू अझै पनि कूटनीतिक मार्गको पक्षमा रहेको अभिव्यक्ति दिएका छन् ।

रुसी राष्ट्रपति पुटिनले युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा रुसी समर्थक बिद्रोहीको नियन्त्रणमा रहेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता प्रदान गरेका थिए । यस्तै ती क्षेत्रको सीमा बिस्तारित रहेको बताउँदै राष्ट्रपति पुटिनले युक्रेनको भित्री क्षेत्रमा प्रवेश गर्ने सङ्केत पनि गरेका छन् ।

सोही विषयलाई लिएर अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसी सैनिकको तैनाथीले अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन भएको समेत बताएका छन् । युक्रेनको विषयलाई लिएर पछिल्लो समय अमेरिका र रुसबीच तनाव बढिरहेको छ । युरोपियन युनियन पनि रुसी सांसदलाई लक्षित गरेर प्रतिबन्धको घोषणा गरेको छ । जर्मनीले रुससँगको प्रमुख इन्धन पाइपलाइन नोर्ड स्ट्रिम २ को कार्य तत्कालका लागि रोकेको छ । बेलायत र क्यानडाले पनि रुसी अर्थतन्त्रलाई लक्षित गरेर प्रतिबन्धको घोषणा गरेका छन् ।

रुसले दुई क्षेत्रलाई स्वतन्त्र घोषणा गर्नु युक्रेनमाथि आक्रमणको पहिलो खुड्किलो रहेको पश्चिमा राष्ट्रले दावी गरेका छन् । युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख ९० हजार हाराहारीमा रुसी सैनिक तैनाथ रहेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उधृत गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसको यो कदमको निन्दा गर्दै युक्रेनमा तैनाथ हुने वा भइरहेका रुसी सैनिक शान्ति स्थापनाको प्रतिकुल रहेको टिप्पणी गरेका छन् । रुसको छिमेकी देश चीन र भारतले भने कूटनीतिक मर्यादाको ख्याल गर्दै सन्तुलित धारणा व्यक्त गरेका छन् । सबैपक्षले संयम्ता अपनाउनु पर्ने प्रतिक्रिया जनाएको छ ।