काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ । हिजो सोमबार २५ दशमलव ४१ अङ्क बढेर नेप्से परिसूचक मंगलबार १७ दशमलव ४२ अङ्क बढेर २ हजार ७३५ दशमलव ९३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ३६ अङ्क, फ्लोट इण्डेक्स १ दशमलव ०२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १४ अङ्क बढेको छ ।

मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ६० लाख ८१ हजार कित्ता शेयर ३ अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि वृद्धि भएको छ । सोमबार ३ अर्ब बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ । जसमा विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर, लगानी र उत्पादनमूलक उपसमूहको परिसूचक भने सामान्य अङ्कले गिरावट आएको छ ।

मंगलवार कारोबारमा आएका २ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सामलिङ पावरको शेयरमूल्य ८ दशमलव ५२ प्रतिशत बढेको छ । तर, सिभिल लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य करिब २ प्रतिशत घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा २१ करोडको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । जीवन विकास लघुवित्तको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।