फाइल तस्वीर
युक्रेन र रुसबीचको विवाद उत्कर्षमा पुगेको बेला यी दुई देशको सङ्कट समाधानका निम्ति कूटनीतिक मार्गलाई प्राथमिकता दिने विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सकारात्मक देखिएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको टेलिफोन सम्वाद पछि यस्ता धारणा सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दुई देशबीचको तनाव समाधानको प्रयासस्वरुप फ्रान्सेली राष्ट्रपति म्याक्रोँले रुसी समकक्षी पुटिनसँग टेलिफोन वार्ता गरेपश्चात् दुई देशका विदेशमन्त्रीबीच चाँडो वार्ताको वातावरण बनाउने सहमति भएको छ ।

युक्रेनको पूर्वी क्षेत्रमा जारी द्वन्द्व समाधानका लागि शान्ति सम्झौता गर्न तथा युक्रेन सङ्कट समाधान गर्न वार्तालाई प्राथमिकता दिन रुसी राष्ट्रपति पुटिन सहमत भएको फ्रान्सेली अधिकारीलाई गर्दै समाचारमा जनाइएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँले आइतबार पुटिनलाई टेलिफोन गरेर सम्भावित युद्ध टार्ने प्रयास गरेका हुन् । अमेरिकासहितका पश्चिमा राष्ट्रले अन्तिम समयसम्म सङ्कट समाधानका लागि कूटनीतिक मार्ग अपनाउने बताउँदै आएका छन् ।

अमेरिका र पश्चिमा देशहरुले रुसले युक्रेनमाथि आक्रमणको तयारीमा रहेको पटक पटक आरोप लगाउँदै आएका छन् । तर रुसले भने युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ । यता युक्रेनले पनि पछिल्लो समय रुसले आक्रमण थाल्ने सम्भावना नरहेको बताएको छ ।

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख ९० हजार सैनिक तैनाथ गरेको समाचारमा जनाइएको छ । पूर्वी युक्रेनमा रुसको साथ पाएका विद्रोही र युक्रेनी सैनिकबीच केही दिनदेखि भिडन्त भएको छ । यही परिवेशमा फ्रान्सेली राष्ट्रपति र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तापछि फान्सका राष्ट्रपति म्याक्रोँले आइतबार दोस्रोपटक रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन संवाद गरेका थिए।

कार्यालयद्वारा जारी वक्तव्यमा अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीचको वार्ताका लागि प्रस्ताव गरेको उल्लेख छ । रुसले युक्रेनमाथि आक्रमण नगर्ने शर्तमा सो बैठकका लागि सहमति भएको जनाइएको छ । बाइडेन र पुटिन सम्भावित वार्ताको विस्तृत विवरण वा तयारीबारे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच आगामी बिहीबार वार्ता एवं छलफल हुने बताइएको छ ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँगको पहिलो टेलिफोन वार्तामा रुसी राष्ट्रपति पुटिनले तनाव बढ्नुमा युक्रेनी सैनिकको गतिविधि जिम्मेवार रहेको आरोप लगाएका थिए । तर दोस्रो टेलिफोन संवादको क्रममा पुटिन वार्ताका लागि तयार भएको समाचारमा जनाइएको छ ।