काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार आज पनि निरन्तर ओरालोतर्फ नै छ । आज आइतबार नेप्से परिसूचक ३९ दशमलव ४० अङ्क घटेर २ हजार ६९३ दशमलव १० बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४ दशमलव ९९ अङ्क, फ्लोट इन्डेक्स ३ दशमलव ०५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ३७ अङ्क घटेको छ ।

आइतबार कारोबारमा आएका २३० कम्पनीको ७१ लाख २२ हजार कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने बिहीबारको तुलनामा बढेको छ । गत बिहीबार सवा २ अर्ब बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमा अन्य उपसमूहको परिसूचक ० दशमलव ४२ प्रतिशत बढेको छ भने बाँकी उत्पादन तथा प्रशोधन, वित्त, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ८ दशमलव ६४ प्रतिशत, सामलिङ पावर कम्पनीको ६ दशमलव ५५ प्रतिशत र नेपाल फाइनान्सको ४ दशमलव १८ प्रतिशत बढेको छ । यता, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत् कम्पनी र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा ५८ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता उक्त लद्युवित्तमा आकर्षित भएका हुन् । त्यस्तै, नेपाल टेलिकमको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।