काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७२ जनामा पीसीआर विधिबाट र ३ हजार २ सय ४३ जनामा एन्टिजेनविधिबाट कोरोना परीक्षण गर्दा २ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८० जना, भक्तपुरमा १ जना र ललितपुरमा १२ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

सोही अवधिमा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ३८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ जना पुगेको छ । हाल देशभर १२ हजार २ सय ४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।