फाइल तस्वीर
रुस र युक्रेनबीचको घटनाक्रमलाई लिएर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरुलाई उक्साएर रुसले युद्ध भड्काउन चाहेको आरोप लगाएका छन् । यद्यपि, आफुहरु भने त्यसको विरुद्ध कुनै जवाफ नदिने बताएका छन् ।

देशको पूर्वी क्षेत्रमा भन्दै रुसले युद्ध भड्काउन चाहेको तर आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटमा नलाग्ने बताए । पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि रुसको समर्थन पाएका बिद्रोही समूहले आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ । पछिल्लो समय रुसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी सैनिक तैनाथ गरेको समाचार आइरहेका छन् ।

यसलाई अमेरिकासहितका पश्चिमा राष्ट्रहरुले युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले कुनैपनि बेला युक्रेनमाथि आक्रमण गर्ने बताइरहेका छन् । रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । युक्रेनीराष्ट्रपति जेलेन्स्कीले विश्वका नेताहरुलाई रुसी आक्रोस वा आक्रमणको सामना युक्रेन आफैले गर्ने पनि बताएका छन् ।

युक्रेनमाथि आक्रमणको बहाना बनाउनका लागि रुसले सुनियोजित रुपमा घटनाक्रम विकास गर्ने प्रयास गरिरहेको पश्चिमा राष्ट्रले आरोप लगाएका छन् । यहि परिवेशमा जर्मनीको म्युनिखमा भइरहेको सुरक्षा सम्मेलनमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनीहरु नआत्तिएको र आफूहरु आफ्नो जीवन बाँच्न चाहेको बताएका छन् ।

पश्चिमा राष्ट्रहरुले मस्को नीतिमा तुष रहेको आरोप पनि लगाए । राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सुरक्षाका लागि नयाँ ग्यारेन्टीको पनि माग गरेका छन् । अमेरिकी अधिकारीले यात्रा जोखिमपूर्ण हुन सक्ने बताए पनि राष्ट्रपति जेलेन्स्की म्युनिख पुगेका हुन् ।

रुसको साथ पाएका बिद्रोही र युक्रेनी सेनाबीच पूर्वी क्षेत्रमा विगत तीन दिनदेखि भिडन्त भइरहेको छ । अहिलेसम्म दुई युक्रेनी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।