ओमानमा जारी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले शनिबार फिलिपिन्समाथि १ सय ३६ रनको विशाल जित हात पारेको छ । लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ । ओपनर कुशल भुर्तेलले शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउँदा नेपालले ३ विकेटको क्षतिमा २ सय १८ रनको विशाल स्कोर बनाएको थियो । कमजोर देखिएको फिलिपिन्समाथिको विशाल जितमा नेपालले केही कीर्तिमान बनाएको छ ।

जवाफी ब्याटिङका लागि आएको फिलिपिन्सलाई ८२ रनमै रोक्न कप्तान सन्दीप लामिछानेले ९ रन दिएर ३ विकेट लिएका थिए । भुर्तेल र दिपेन्द्रले कीर्तिमानी १७१ रनको साझेदारी गरेका थिए । भुर्तेल टी–२० आईमा शतक बनाउने तेस्रो नेपाली खेलाडीसमेत बने ।

कुशलले टी–२० अन्तर्राष्ट्रियको ७ इनिङ्समा ४०२ रन पूरा गरेका छन् । उनी सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । परास खड्काले ३३ खेलबाट ७९९ रन बनाएका छन् भने ज्ञानेन्द्र मल्लले ३७ खेलमा ७२८ र दीपेन्द्रसिंह ऐरीले ३१ खेलमा ७१३ रन जोडेका छन् ।